काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी युनिटहरूबाट हराएको झण्डै ३५ सय राउन्ड गोली बरामद भएको छ । आन्दोलनकै भीडभाडमा प्रदर्शनकारीले लुटेर लगेका ती गोली विभिन्न ठाउँमा फेला परेको प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।
अनुसन्धान तथा क्षतिको विवरण संकलन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले संकलित प्रतिवेदन आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइसकेको छ ।
आन्तरिक प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउन्ड गोली लुटिएको छ । त्यस्तै, आन्दोलन स्थल र प्रहरी युनिटहरूबाट हराएका करिब २ सय अश्रुग्याँस सेल समेत फेला परेको प्रहरीले जनाएको छ ।

