काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा सचिवको संख्या घटाएर अब केवल एक सचिव राख्ने निर्णय गरेको छ। यस निर्णय अनुसार अर्थ मन्त्रालयको काम तत्कालका लागि एक सचिवले मात्रै सम्हाल्नेछन्।
हाल अर्थसचिवमा घनश्याम उपाध्याय नियुक्त छन्। मन्त्री रामेश्वर खनालको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका ४ सचिवको सरुवा गर्ने निर्णय गरेको छ।
त्यसअनुसार, राजस्व सचिव दिनेश घिमिरेलाई राजस्व सचिवको जिम्मेवारीबाट हटाएर प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको छ। यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव अलग्गै रहने चलन थियो, तर नयाँ व्यवस्थाअनुसार अर्को सचिवको आवश्यकता नरहेको ठहर गरिएको छ।
यसैगरी, महालेखा नियन्त्रकको जिम्मेवारीमा सचिव शोभाकान्त पौडेल कार्यरत छन् भने वित्तीय संघीयता महाशाखा प्रमुख महेश बराललाई तालिम केन्द्रमा सरुवा गरिएको छ।
सरुवाले अर्थ मन्त्रालयका प्रमुख सचिवालय र निकायमा जिम्मेवारीको पुनःविन्यास ल्याएको छ।

