काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।मंगलवार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकिएको कामहरुमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरु फत्ते गर्नु आफैँमा अभुतपूर्व काम गरेको तर्क गरे । उनले विधेयकलगायतका विषयहरु सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टिकरण समेत अर्थमन्त्री वाग्लेको थियो । उनले अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफनो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको बताएका छन् ।
अर्थमन्त्री वाग्लेले भने,‘सय दिनको प्रसंग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्यांकनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरु फत्ते भएको छ । यो आफैमा अभूतपूर्व होला । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमान्दार रुपमा प्रयासरत छ । केही कामहरु निरन्तर छन । विधेयक पेश गर्ने जस्ता कुराहरु त्यो हाम्रो कन्ट्रोलमा मात्रै नभएको हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका सबै कामहरु फत्ते गरेको छ ।’
अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचन अघि जनतासामू गरेको बाचा अनुसार नै काम गरिरहेको पनि बताएका छन् ।

