धादिङ । धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।
फायरिङको क्रममा एक कैदीको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको उपचार धादिङ अस्पतालमा भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम ठेगाना नखुलेको धादिङ अस्पतालले जनाएको छ ।
घाइते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका –१ का कपिल परियार, देवराज अधिकारी, नीलकण्ठ –७ का रामशरण परियार, गजुरी–८ का मेमबहादुर तामाङ, धुनीबेशी –७ का डम्बरबहादुर दाहाल, गजुरी –७ का कृष्णबहादुर मोक्तान, नेत्रावती डबजोङ –५ का विकास गुरुङ रहेका छन् ।
कारागारमा कैदीहरुले रिहाइको माग गर्दै आगजनी गर्ने प्रयास गर्नुका साथै नाराजुलुस र ढुंगामुढा गरेका थिए । आन्दोलनकै क्रममा गेटको ताला तोडी भाग्न खोजेपछि सेनाले नियन्त्रणका लागि गोली चलाएको जनाएको छ ।

