नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा आउने÷जाने क्रम सामान्य भन्दै यसबाट आत्तिन नहुने बताएका छन्। ३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं। कोही एकताबद्ध भए, कोही भएनन्। कोही एकताबद्ध भएर पनि बीचैमा छाडेर पनि गए’, उनले भने, ‘यस्तो भइरहन्छ। त्यसैले आत्तिने काम गर्नु हुँदैन।’
अध्यक्ष नेपालले विचार मिल्नेहरूसँग पार्टी एकता गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न लगातार लागिरहेको जिकिर पनि उनले गरे।
‘आफ्नो विचार ठीक छ कि छैन भन्ने आत्मविश्वास हुनुपर्छ। त्यही शक्तिमा एकताबद्ध बनाउन जुट्नुपर्छ’, उनले भने, ‘विचार, दृष्टिकोण र धारणा मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ, मोर्चा बनाउनुपर्छ। सहकार्य गर्नुपर्छ। सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ।’

