माधव-प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् । शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको आरोप लगाएका हुन् ।

उनले ७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरूबाट बचाउन नसकेको जिकिर गरे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तर्विद्रोह पैदा गर्ने काम गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘०७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौँ । थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाइ हुन । त्यस ठाउँमा हामीले कम्युनिस्ट आन्दोलनलाई पुर्‍यायौँ । वामपन्थी आन्दोलनलाई पुर्‍यायौँ । तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्त्वहरू छटपटाए । अन्य शक्तिहरू बाह्य शक्तिहरू पनि छटपटाए । उनीहरूले यिनलाई उचाल्न थाले । र पार्टीभित्रका केही तत्त्वहरू पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए । हामी विकासको लागि अगाडि बढ्न थाल्यौँ । तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरू त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तर्विद्रोह पैदा गर्ने काम भयो ।’

दलको नेताकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने तर संसद्मा अरू तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको ओलीले टिप्पणी गरे । उनले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताए । प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरू सरकारमा रहेको बताए ।

उनले भने, ‘संसदमा अरू विभिन्न प्रकारका तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रूपमा केही कडा कदम चाल्नपर्‍यो । वास्तवमै पार्टी उनीहरूले हामीले एकीकरणका मनसायले एकीकरण गर्‍यौँ । उनीहरूले गलत ढङ्गले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरू चाल्नुपर्‍यो । आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ । सहज परिस्थिति थिएन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताए । उनले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताए । अरूको नेतृत्वमा विगतमा सम्भव भए पनि आफू नेतृत्वमा रहँदासम्म प्रतिगमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । यो सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरूको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्वमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठुलो मूल्य चुकाउनुपर्नेछ, प्रतिगमनका निम्ति कोसिस गर्नेहरूले । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन । यो कुरा जनताको बहुदलीय जनवादको प्रकाशमा नै हामी गरिरहेका छौँ । लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रको नाममा, लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्रका रूपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकतामार्फत राष्ट्रिय लोकतन्त्र । सामाजिक न्याय, समानताको आधारमा राष्ट्रिय एकता । त्यस माध्यमबाट र एकताबद्ध प्रयासबाट राष्ट्रिय हितहरूको रक्षा, संवर्द्धन पूर्ण रूपमा, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रूपमा । अर्थात् यहाँ कुनै प्रतिगमनको लागि स्पेस छैन । प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुनेछैन । त्यति जनताको बहुदलीय जनवादले सिकाएको छ । त्यस मान्यतामा हामी अघि बढेका छौँ । मार्क्सवाद, लेनिनवादले हामीलाई सिकाएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा कुनै सङ्कट नरहेको बताए । प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकूल परिस्थिति भएको र अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए । महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसाबले घेर्ने काम भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने- ‘आजको परिस्थिति भनेको एउटा अनुकूल परिस्थिति हो । यस अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ । किनभने उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई क्याप्चर गर्न, युधिष्ठिरलाई बन्दी बनाउन खोज्थे, किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ । नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन् । नेपालमा हामी सतर्क छौँ ।’

ओलीले भने- ‘नेकपा एमाले हरेक परिस्थितिको सामना गरेर अघि बढ्न तयार छ । हामी कहाँ केही कुराको पनि त्यस्तो क्राइसिस छैन । क्राइसिस छैन । तपाईँहरू एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नुस् । हामीलाई बाटो देखाउन मार्क्सवाद, लेनिनवाद छ, जनताको बहुदलीय जनवाद छ । हाम्रा प्रेरणाका श्रोत, मदन भण्डारी, जीवराज आश्रित जस्ता महान् नेताहरू हुनुहुन्छ । जसले हामीलाई सही ढङ्गले मार्ग निर्देशन गरेका छन् वैचारिक रूपले ।’

सम्बन्धित समाचार

ताजा समाचार