राज्यका हरेक अङ्गमा सत्ता र शक्तिको लाजमर्दो भागबण्डा चलिरहेको छ : रास्वपा सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अङ्गमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो टिप्पणी गरेकी हुन् ।

सरकारले न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदूत र राष्ट्र बैंक जस्ता संस्थामा मेरिट र काबिलियतको कदर नगरेको आरोप लगाइन् । उनले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोरिने भएपनि कार्यान्वयन नहुने प्रवृत्ति दोहोरिरहेको बताइन् ।

भाषण र घोषणामा सीमित नभई ठोस परिणाम दिने दिशामा अघि बढ्नुपर्नेमा जोड छ ।

उनले भनिन् ‘ज्युँदै नेपाल आमालाई चिथोरेर राज्यका हरेक अङ्गमा सत्ता र शक्तिको लाजमर्दो भागबण्डा चलिरहेको छ । न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक निकाय, राजदूत, राष्ट्र बैंक कही पनि मेरिट र काबिलियतको कदर छैन । यस्तो अवस्थामा आदर्शका मिठा कुरा गरेर नीति कार्यक्रममा छलफल गर्नुको के नै अर्थ रहन्छ र ? हरेक वर्षको सिद्धान्त र प्राथमिकतामा कृषि, ऊर्जा, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको प्रतिबद्धता जाहेर गरिन्छ । तर ती प्रतिबद्धता कहिल्यै कार्यान्वयनसम्म पुग्न सकेनन् ।’

सांसद कार्कीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विदेश गएर उपचार गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्ने नीति ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सम्बन्धित समाचार

ताजा समाचार