जानकीको जन्मदिनमा बिदा दिनुपर्छ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाएका हुन् । राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उनको आरोप छ ।

उनले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गरे ।

उनले भने– ‘माता जानकीको बारेमा सरकारलाई थाहा छ कि छैन ? राम नवमीमा सरकारले बिदा पनि दिन्छ । जानकी जयन्तीलाई किन बेवास्ता गरेको भन्ने प्रश्न पनि गर्न चाहन्छु । के अहिलेको एक्काइसौं शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ? एउटा राष्ट्रिय विभूति सीता जुन नेपालको गौरव हुन् । उहाँको सम्मानलाई बेवास्ता गर्न मिल्छ । प्रधानमन्त्रीज्युले आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ?’

उनले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक विदाको घोषणा गर्न माग गरे ।

सम्बन्धित समाचार

ताजा समाचार