आफ्नै घरभित्र मृत्युको डर – ‘नेपाली ब्रो’ प्रकरणले उठाएका गम्भीर प्रश्न

स्वस्तिका पन्थी । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले आफ्नै श्रीमतीको हत्या गरेपछी  एउटा परिवार मात्र होइन, सिंगो समाज स्तब्ध बनेको छ। घटनाको अनुसन्धान र कानुनी प्रक्रिया आफ्नो ठाउँमा छ, तर यो घटनाले नेपाली समाजमा लामो समयदेखि मौन रूपमा बढिरहेका केही गम्भीर प्रश्नलाई पुनः सतहमा ल्याइदिएको छ।सबैभन्दा ठूलो प्रश्न हो—के महिलाहरू आफ्नै घरभित्र सुरक्षित छन् ?

घरलाई सामान्यतः सुरक्षा, माया र विश्वासको केन्द्र मानिन्छ। तर पछिल्ला वर्षहरूमा सार्वजनिक भएका महिला हत्या, घरेलु हिंसा र पारिवारिक अत्याचारका घटनाले घर नै कतिपय महिलाका लागि सबैभन्दा जोखिमपूर्ण स्थान बन्दै गएको  छ। अपरिचित व्यक्तिबाट होइन, जीवनभर साथ दिने वाचा गरेका व्यक्ति वा परिवारकै सदस्यबाट महिलाहरू हिंसाको शिकार भइरहनु झन् भयावह पक्ष हो। कुमार थापा प्रकरणले पनि यही कटु यथार्थलाई पुनः उजागर गरेको छ। बाहिरबाट हेर्दा सामान्य देखिने सम्बन्धभित्र कति गहिरो तनाव, हिंसा वा मानसिक द्वन्द्व लुकेको हुन्छ भन्ने कुरा यस्ता घटनाले देखाइरहेका छन्।

यस्ता घटनालाई अप्रत्यक्ष रुपमा सामाजिक सन्जाल प्लेटफर्महरुले भुमिका खेलेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा ‘भ्युज’को असंवेदनशील दौड पनि यसका कारक बनिरहेका छन् । घटना सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल र युट्युबमा त्यसको ‘कन्टेन्ट’ बन्न थाल्यो। कतिपयले अनुसन्धान पूरा नहुँदै दोषी–निर्दोषको फैसला सुनाए भने कतिपयले पीडित परिवारको संवेदनशील अवस्थालाई समेत ‘भ्युज’ र ‘क्लिक’को साधन बनाए।हत्या जस्तो गम्भीर घटनालाई मनोरञ्जन वा सनसनीको सामग्री बनाउने प्रवृत्ति झन् खतरनाक देखिन्छ। तथ्यभन्दा अनुमान, प्रमाणभन्दा अफवाह र संवेदनशीलताभन्दा लोकप्रियता खोज्ने प्रवृत्तिले समाजलाई सही सूचना होइन, भ्रम र उत्तेजनातर्फ धकेल्ने जोखिम बढाइरहेको छ।

विशेषगरी लाखौं मानिसले पछ्याउने सामाजिक सञ्जाल प्रभावक र युट्युबरहरूबाट अझ बढी जिम्मेवारी अपेक्षा गरिन्छ। तर पछिल्लो समय केही सामग्री निर्माताहरूले घटनाको मानवीय पक्षभन्दा पनि दर्शक संख्या बढाउने पक्षलाई प्राथमिकता दिएको आरोप लाग्दै आएको छ। कुमार थापाका बिषयमा पनि युटुवरहरुले यहि भुमिका निर्वाह गरे । जहाँ व्यक्ति हिरोईजम युटुवरका कन्टेन्ट बने कुमारका अस्वभाविक शब्दहरुमा कसैको ध्यान गएन । युटुबर हरु आफैले कैद गरेको क्यामेरा कन्टेन्ट बारेमा कहिल्यै पछाडी फर्केर हेरेनन् हेरे त केबल आफ्नो ड्यासबोर्डको डलर ।

यस्ता इन्फ्ल्लुईन्सरकै कारण कुमार मनोबृति मौलाउदै अन्तत मनोदशामा परिणत भएको पनि अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार अत्यधिक रिस, असुरक्षा, सम्बन्धमा अविश्वास, नियन्त्रण गर्ने प्रवृत्ति, मानसिक तनाव, डिप्रेसन वा अन्य मनोवैज्ञानिक समस्याहरू समयमै पहिचान र व्यवस्थापन हुन नसके गम्भीर हिंसामा परिणत हुन सक्छन्। नेपालमा मानसिक स्वास्थ्यबारे खुला संवाद अझै कमजोर छ। मनोवैज्ञानिक सहायता लिनुलाई धेरैले लाज वा कमजोरीका रूपमा हेर्ने प्रवृत्ति कायम छ। परिणामतः धेरै मानिसहरू भित्रभित्रै तनाव, क्रोध र निराशासँग संघर्ष गरिरहेका हुन्छन्। यद्यपि कुनै पनि मानसिक समस्या हिंसाको औचित्य बन्न सक्दैन। हत्या व्यक्तिगत जिम्मेवारी र कानुनी अपराध हो। तर यस्ता घटनाको पृष्ठभूमि बुझ्न मानसिक स्वास्थ्यको पक्षलाई बेवास्ता गर्न पनि मिल्दैन।घरेलु हिंसाका संकेतहरूलाई सामान्य झगडाका रूपमा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

धम्की, नियन्त्रण, अपमान, शारीरिक वा मानसिक दुर्व्यवहारलाई प्रारम्भिक चरणमै गम्भीर रूपमा लिन आवश्यक छ।कुमार थापा उर्फ ‘नेपाली ब्रो’ प्रकरण केवल एक व्यक्तिमाथिको वा एक परिवारको दुःखद कथा मात्र होइन। यसले नेपाली समाजलाई ऐना देखाएको छ—जहाँ महिलाहरू अझै आफ्नै घरभित्र असुरक्षित हुन सक्छन्, सामाजिक सञ्जाल संवेदनशीलताभन्दा सनसनीतर्फ दौडिन सक्छ, र मानसिक स्वास्थ्यका संकेतहरू समयमै नदेखिँदा परिणाम भयावह बन्न सक्छ। यो घटनाको अन्तिम सत्य अदालत र अनुसन्धानले तय गर्ला  तर एउटा प्रश्न भने अहिले नै समाजसामु उभिएको छ—हामी अर्को यस्तै घटना पर्खिरहेका छौं, कि यसबाट पाठ सिकेर रोकथामका लागि गम्भीर कदम चाल्छौं ?

सम्बन्धित समाचार

ताजा समाचार