सुदूरपश्चिम प्रदेशः मन्त्री छान्न काँग्रेसका दुवै समूह छलफलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्र मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टबीचको विवाद मन्त्रालय भागबन्डामा टुङ्गिएसँगै दुवै पक्ष नयाँ मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन् ।

मुख्यमन्त्री पक्ष र विष्ट पक्षका सांसद नयाँ मन्त्रीको नाम टुङ्गो लगाउन छलफलमा जुटेका हुन् । शनिवार काँग्रेस महामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा सरकार पुनर्गठन गर्ने समझदारी बनेको थियो ।

मुख्यमन्त्री शाह पक्षका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार काँग्रेसको भागमा रहेका तीन मन्त्रालयमध्ये एक मन्त्रालय र एक राज्यमन्त्री शाह पक्षसँग तथा दुई मन्त्रालय र एक राज्यमन्त्री असन्तुष्ट पक्षले पाउने सहमति जुटेको हो ।

भागबन्डाअनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री पक्षले पाउनेछ भने सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय असन्तुष्ट अर्थात् विष्ट पक्षले पाउनेछन् । सामाजिक विकास मन्त्रालयको राज्यमन्त्री मुख्यमन्त्री पक्ष तथा आर्थिक मामिलाको राज्यमन्त्री असन्तुष्ट पक्षले पाउने भएको छ ।

मुख्यमन्त्री शाह पक्षमा ९ जना सांसद छन् । जसमा बहालवाला तीन जना मन्त्री, दुई जना राज्यमन्त्री सहित प्रमुख सचेतक विक्रमसिंह धामी, मधु भारती र डम्बरी महरा छन् ।

उनीहरू मध्ये आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी र डम्बरी महराको दाबी रहेको छ । धामीले आर्थिक मामिला मन्त्रीमा दाबी गरेका छन् । मन्त्री र राज्यमन्त्रीको टुङ्गो भने लागेको छैन । धामीका अनुसार मुख्यमन्त्री पक्ष पनि मन्त्री र राज्यमन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफलमा जुटेको छ।

सम्बन्धित समाचार

ताजा समाचार