सिरहा । सिरहामा एसईई र कक्षा १२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको घटनाविरुद्ध विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।
संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन हुने भएको छ । प्रदर्शनमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ लगायत नारा लगाइने छ।
विद्यार्थीहरूले जफत उपकरणको उचित क्षतिपूर्ति, विद्यार्थीमाथिको दमन अन्त्य र पीडितलाई न्यायको माग गर्दै प्रदर्शन गर्न लागिएको हो ।जिल्ला प्रशासनले परीक्षाको मर्यादा कायम राख्न भन्दै बरामद सामग्री (७ आईफोन, ४८९ एन्ड्रोइड मोबाइल र ५ स्मार्टवाच) लाई पानीमा डुबाएर नष्ट गरेको थियो ।
उक्त सामग्रीको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान छ । अभिभावक र कानुन व्यवसायीले पनि प्रशासनको यो कदमप्रति आपत्ति जनाएका छन् ।

