कुनै एउटा यस्तो समय थियो, इन्टरनेटमा भिडिओ कल गर्नुपरे स्काइपलाई नै सम्झिइन्थ्यो । इन्टरनेटबाट च्याटमा मात्र कुराकानी गर्न सकिने सीमिततालाई तोड्दै सन् २००३ मा सुरु भएको स्काइपले छोटो समयमा लोकप्रियता हासिल गरेको थियो ।
अहिले भिडिओ कल गर्नु हाम्रो लागि सामान्य लाग्छ, तर त्यस समयमा यस्तो सम्भव हुनु आश्चर्यभन्दा कम थिएन । त्यस्तो समयमा स्काइपले कम्प्युटरमा इन्टरनेटको प्रयोग गरेर एक अर्काको अनुहार हेरेर भिडिओ कल तथा भ्वाइस कल निःशुल्क गर्न सकिने सुविधा ल्याएर इन्टरनेटको दुनियाँमा राज गरेको थियो । एउटा एपको प्रयोगले नै देशको सिमाना काटेर अन्य देशमा अनुहार हेरेर कुराकानी गर्न सर्वसाधारणलाई सहज बनाइदिएको थियो ।
हाल स्थापना भएको २१ वर्ष पूरा भइसक्दा भने स्काइप गुमनाम भएको छ । भिडिओ कल, कन्फरेन्स वा भर्चुअल मिटिङका लागि कैयौं विकल्प आएका छन् । यस्तो अवस्थामा पुरानो लोकप्रिय एप स्काइपलाई भने लगभग बिर्सिइएको छ ।

