एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन् ।

शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गरेका हुन् ।

उनले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताए । अरूको नेतृत्वमा विगतमा सम्भव भएपनि आफू नेतृत्वमा रहँदासम्म प्रतिगमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ । प्रतिगमन सोचे मात्रै पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले प्रतिगमनका निम्ति कोशिस नगर्न आग्रह गरे ।

राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । नेपालमा कुनै प्रतिगमनको लागि ठाउँ खालि नरहेको बताए । प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही नहुने उनको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले भने ‘हाम्रो नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । यो सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरूको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्वमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठूलो मूल्य चुकाउनुपर्नेछ, प्रतिगमनका निम्ति कोसिस गर्नेहरूले । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन । यो कुरा जनताको बहुदलीय जनवादको प्रकाशमा नै हामी गरिरहेका छौँ । लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रको नाममा, लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्रका रुपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकतामार्फत राष्ट्रिय लोकतन्त्र । सामाजिक न्याय, समानताको आधारमा राष्ट्रिय एकता । त्यस माध्यमबाट र एकताबद्ध प्रयासबाट राष्ट्रिय हितहरूको रक्षा, संवर्द्धन पूर्ण रुपमा, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रुपमा । अर्थात् यहाँ कुनै प्रतिगमनको लागि स्पेस छैन । प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुनेछैन । त्यति जनताको बहुदलीय जनवादले सिकाएको छ । त्यस मान्यतामा हामी अघि बढेका छौँ । माक्सवाद, लेनिनवादले हामीलाई सिकाएको छ ।’

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको मान्यतामा आफूहरू अघि बढेको र त्यो कुरा लेनिनवाद र माक्सवादले सिकाएको जिकिर गरे ।

सम्बन्धित समाचार

ताजा समाचार