राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै पनि सङ्घीयता बमोजिम नबनेको बताएका छन् ।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरुको मानसिक अवस्था अझै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुकुल बन्न नसकेको बताए ।
उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अझै पनि बजेटको लागि केन्द्रमै धाउने प्रवृत्ति अन्त्य हुन नसकेको बताउँदै केन्द्रिकृत, एकात्मक र सामन्ती संस्कारबाट अझै मुक्त हुन नसकेको बताए ।
नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेता समेत रहनुभएका सिटौलाले नयाँ संविधान ल्याए पनि काम गर्ने शैली पुरानै रहेको जिकिर गरे ।
उनले आचरण र व्यवहारको मूल्याङ्कन हेर्दा पार्टीका सङ्गठन र राज्यका निकायहरू केन्द्रमुखी रहेको धारणा राखे ।
उनले आफूहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना बमोजिम जनताको हितमा व्यापक काम गर्न सक्छौँ भने देखाउनुपर्नेमा जोड दिए ।
उनले संविधानको मुल मर्म र भावना बमोजिम राष्ट्रिय सभाका सदस्यहरूले रोडम्याप बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

