नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता रहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शासक बन्न चाहने मनोवृत्ति सबैमा रहेपनि नागरिकलाई कसरी सुख र शान्ति दिने भन्नेकुराको योजना नरहेको बताए ।
उनले अहिले पनि थाइल्याण्डमा सरकारको बारेमा कुरा हुनु लज्जास्पद भएको बताए । उनले अस्थिरता छ भन्ने सबैलाई लागेको तर स्थरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न नसकेको बताए ।
उनले नेपालमै निर्णय गर्नसक्ने र नेपालको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी रहेको बताए ।
नेपाली समाज अन्तरघुलित समाज भएको भन्दै नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न जरुरी रहेको बताए ।
उनले बहुदलमा पनि विदेशीकै नक्कल, संविधान लेख्न पनि विदेशीकै नक्कल गरिएको बताए । नेपालका नागरिक सुन्नमात्रै विवश हुनुपरेको बताए ।
महासचिव चन्दले अर्काको टेको बिना बाँच्नै सकिँदैन भन्नेकुरा गलत रहेको बताए । उनले नेताहरुले यस्तो मनस्थिति हटाउनुपर्ने बताए ।
उनले संघीयता मात्रै भनेर नहुने भन्दै एकीकृत राष्ट्रियता निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालको अवस्था खेतमा मुसाले प्वाल नै प्वाल पारेको जस्तो देखिएको बताए ।
उनले नेपालमा संस्कृति नै मासिँदै गएको उल्लेख गरे । बालुवाटार र सिंहदरबारमा नभइ जनताको झुपडीमा बसेर देशको नेतृत्व गर्ने चाहना आफ्नो रहेको बताए ।

