नेपाली कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली कांग्रेस कुनै व्यक्ति विशेषको पार्टी नभई एक सिद्धान्त, नीति र आन्दोलन भएको बताएका छन्।
लमजुङको दूधपोखरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसको लोकतान्त्रिक विशेषताबारे प्रकाश पारे।
उनले भने, “हामी नेपाली कांग्रेसलाई चिनौं, नेपाली कांग्रेसलाई पढौं। नेपाली कांग्रेस आफैंमा एउटा सिद्धान्त हो, नीति हो, आन्दोलन हो। त्यसैले कांग्रेस भनेको कुनै व्यक्ति होइन।” उनले अन्य दलहरूसँग तुलना गर्दै कांग्रेसमा एक व्यक्तिले नेतृत्व कब्जा गर्ने संस्कृति नभएको र यहाँ सबैलाई जनताको पक्षमा बोल्न छुट रहेको बताए।
सतारले अन्य दलहरूमा नेतृत्वमा पुग्न एउटा व्यक्तिको आश्रय लिनुपर्ने अवस्था रहेको तर कांग्रेसमा त्यसरी दबाब वा नियन्त्रण नहुने जिकिर गरे। उनले थपे, “हाम्रो पार्टीमा लोकतान्त्रिक मूल्यमान्यता छ। यहाँ जनताको पक्षमा, विकासको पक्षमा बोल्न पाउने स्वतन्त्रता सबैलाई छ। हाम्रा नेताहरूले कुनै विषयमा बोलेको आधारमा कारबाही हुँदैन।”
उनले कांग्रेस कार्यकर्ताहरूलाई लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् गर्दै पार्टीलाई अझै सशक्त बनाउने दिशामा लाग्न आग्रह गरे।

