सडक सुरक्षा र पूर्वाधार विकासका लागि ऐन संशोधनको तयारीमा सरकार

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको अवस्थाका कारण हुने दुर्घटना न्युनिकरणका लागि सरकारले कानूनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाएको बताएका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा, बजेट विनियोजन र भविष्यको पूर्वाधार योजनाबारे सरकारको धारणा स्पष्ट पारेका हुन् ।

मन्त्री लम्सालले विगत पाँच वर्षको तथ्याङ्क प्रश्तुत गर्दै सडकको खराब अवस्थाका कारण २ हजार ७ सय ८८ र मौसमका कारण ४ सय २२ वटा दुर्घटना भएको जानकारी दिए । पूर्वाधार विकासका योजनाहरू मागका आधारमा मात्र नभई तथ्याङ्क र आवश्यकताका आधारमा तय गरिएको दाबी गर्दै मन्त्री लम्सालले आगामी बजेटमा पालिका र जिल्ला केन्द्र जोड्ने सडकहरूलाई दुई लेनमा विस्तार गर्ने योजना समेटिएको बताए । यसका लागि विद्यमान ऐन र नियमहरूमा आवश्यक संशोधनको प्रक्रिया शुरु भइसकेको उनको भनाइ छ । कर्णाली प्रदेशको पूर्वाधार विकासका सन्दर्भमा बोल्दै मन्त्री लम्सालले दुर्गम क्षेत्रमा सडक सञ्जाल कम भएकाले नै सो क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको प्रस्ट पारे । यस्तै, काठमाडौंमा मेट्रो रेल सञ्चालनको विषयमा चर्चा गर्दै उनले यो दीर्घकालीन परियोजना भएको र यसमा निजी क्षेत्रको लगानी रहने तथा सरकारको प्रत्यक्ष लगानी नहुने जानकारी दिए ।

उनले भने, ‘हामीले तत्काल सबै समस्या समाधान गर्न नसके पनि विपद् व्यवस्थापन प्राधिकरण र मन्त्रालयमार्फत संवेदनशील क्षेत्रहरूमा निगरानी बढाएका छौँ । नागरिकको जीवन रक्षाका लागि अत्यधिक जोखिमयुक्त र बाढी–पहिरोको सम्भावना भएका सडकहरू वर्षाको समयमा बन्द गरेर भए पनि सुरक्षा सुनिश्चित गरिनेछ । हामीले १० वर्षको मात्र होइन, ५० देखि १०० वर्षपछिको आवश्यकता हेरेर योजना बनाउनुपर्छ । रेल्वे र मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरूको राइट अफ वे निर्धारण र संरक्षण गर्नु राज्यको बाध्यता हो ।’

आगामी १०० वर्षपछिको पुस्तालाई समेत मध्यनजर गर्दै पूर्वाधारको गुरुयोजना बनाउनुपर्नेमा जोड दिए । यस क्रममा नागरिकलाई केही असुविधा भएपनि भविष्यका लागि यो अनिवार्य रहेको उनले उल्लेख गरे । प्रशासनिक सुधारका विषयमा बोल्दै मन्त्री लम्सालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित केही अव्यवहारिक प्रावधानहरू संशोधन गरिने बताए । निर्माण व्यवसायीले गरेको त्रुटीको भारी कर्मचारीले बोक्नुपर्ने अवस्थाको अन्त्य गरिने र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

भ्रष्टाचार न्युनिककरणका लागि निर्माण व्यवसायी, परामर्शदाता र सेवाग्राहीलाई कसैलाई पनि अतिरिक्त रकम नदिन आग्रह गर्दै मन्त्री लम्सालले भुक्तानीमा समस्या भए सिधै मन्त्रालयमा उजुरी गर्न आह्वान गरे । मन्त्री लम्सालले देशको समृद्धिका लागि सबै पक्षलाई एकतावद्ध भएर अगाडि बढ्न अपिल गर्दै सरकार फरक ढंगले काम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार