कैलाली । कैलालीको अत्तरिया स्थित एक होटलबाट २ किलो बढी चरेस सहित २ जना पक्राउ परेका छन् । आइतबार दिउँसो गोदावरी नगरपालिका – १ अत्तरिया स्थित धनगढी रोडमा रहेको ममता सेकुवा सेन्टरबाट २ किलो २०५ ग्राम चरेस सहित २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा होटल साहु डडेल्धुराको भागेश्वरी गाउँपालिका ३ घर भई हाल गोदावरी नगरपालिका १ बस्ने शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ घर भई हाल धनगढी उपमहानगरपालिका १ बस्ने ५२ वर्षीय मीन राज भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराले बताए ।
उनका अनुसार होटलको पछाडि पट्टि जस्ता पाताले छाएको ट्रस भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको थियो ।
दुवै जनालाई गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको थियो ।

