काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनमा प्रतिनिधिहरूको उल्लेखनीय अनुपस्थिति देखिएको छ। करिब ४ हजार २ सय प्रतिनिधि सहभागी भएको महाधिवेशनमा पदाधिकारी चयनका लागि भने १५ सयभन्दा कम मतदाता मात्रै मतदानमा सहभागी हुने अनुमान गरिएको छ।
पार्टीका एक नेताका अनुसार केन्द्रीय सदस्यमा पराजित भएका अधिकांश उम्मेदवार महाधिवेशनस्थल छाडिसकेका छन्। उनीहरूसँगै समर्थक र प्रस्तावकहरू पनि फर्किएका कारण मतदानस्थलमा अहिले ४–५ सय जनामात्रै देखिएका छन्। यही कारण अन्तिम मतसंख्या १५ सय नाघ्ने सम्भावना न्यून रहेको बताइएको छ।
यद्यपि मतदान प्रक्रिया भने तीव्र गतिमा अघि बढिरहेको छ। दिउँसो १ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म सयभन्दा बढी प्रतिनिधिले मत खसालिसकेका छन्। पदाधिकारीका सीमित पदमा मात्रै मतदान गर्नुपर्ने भएकाले प्रक्रिया छिटो सम्पन्न भइरहेको निर्वाचन समितिले जनाएको छ।
यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको थियो भने १ हजार ३ सय ५२ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए। पदाधिकारी निर्वाचनमा त्यो संख्या अझै घट्ने संकेत देखिएको छ।

