सुर्खेतबाट पक्राउ परेका पौडेललाई ललितपुर प्रहरीको हिरासतमा राखिने

काठमाडौँ । सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्गबाट काठमाडौँ ल्याइँदैछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ । यद्यपि हालसम्म ललितपुर प्रहरीलाई विभागले कुनै ताकेता नगरेको जिल्ला प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताए ।

विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ । बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय लागेको हो । उनी हाल चितवन–धादिङको सडकतिर पुगेको स्रोतले जनायो ।

काठमाडौँ ल्याउनासाथ अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने स्रोतले जनाएको छ ।

उनलाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी थियो ।

सम्बन्धित समाचार

ताजा समाचार