काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते दिएको राजीनामा ९ महिनापछि नेपाल राजपत्रमा प्रकाशित भएको छ।
मुद्रण विभागले बुधबार उक्त राजीनामासम्बन्धी सूचना राजपत्रमा सार्वजनिक गरेको हो। प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७४ रहेको छ। रोचक पक्ष के भने, यसअघि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ थियो।
राजपत्रमा सूचना अहिले प्रकाशित भए पनि त्यसको मिति भने ओलीले राजीनामा दिएको दिन अर्थात् भदौ २४ गतेकै उल्लेख गरिएको छ। उक्त सूचना राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा प्रकाशित भएको देखिन्छ।
जेनजी आन्दोलनको दबाबपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। तर त्यससम्बन्धी औपचारिक सूचना भने लामो समयपछि मात्र राजपत्रमा समावेश भएको हो।

