प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजदेखि हुँदैछ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए।

‘प्रधानन्यायाधीशको नियुक्तिलाई लिएर न्यायालयमा अन्योल बढेको देखियो । हामीबाट सुनुवाइमा ढिलाइ हुँदा देश नै अप्ठ्यारो ठाउँमा नजाओस् भन्ने निष्कर्षमा पुगेर प्रक्रियाबाटै शीघ्र सुनुवाइ गर्ने निर्णयमा पुगेका छौँ,’ उनले भने ।

सभापति श्रेष्ठका अनुसार बिहान ८ बजे शर्माविरुद्ध परेका उजुरी खोलिनेछ। सांसदहरूलाई वितरण गरिनेछ । ९ः४५ मा उजुरीकर्तासँग छलफल गरिनेछ।

‘उजुरीकर्तासँग कति समय लाग्छ, त्यसपछि सुनवाइ हुन्छ,’ उनले भने, ‘अनुमोदन हुने वा नहुने जे भए पनि समिति निर्णयमा पुग्छ ।’

शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन्। २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरिएकोमा सोमबार कार्यालय समयभित्र १६ उजुरी परेका समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।

समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो।

संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो। अब सुनुवाइपछि अनुमादेन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।

 

सम्बन्धित समाचार

ताजा समाचार