काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको मंगलबार कीर्तिपुर मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा नेपालका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा दीपेन्द्रले केवल ४३ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
२६ वर्षीय दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो आठौं अर्धशतक हो । उनले यो ढाँचाको क्रिकेटमा दुईवटा शतक पनि बनाएका छन् ।
टस जिती पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल केही समय प्रभावित भएको थियो ।
खेल पुनस् शुरू भएपछि नेपालले ३९ ओभरमा दुई सय २१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पायो । २५।४ ओभरको खेल सकिँदासम्म नेपालले चार विकेट गुमाएर एक सय २१ रन बनाएको छ ।

