काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् ।
बुधवार पूर्व सांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय शासन प्रणालीको औचित्य समाप्त भइसकेको तर्क गरे । उनले निर्वाचित सरकारलाई पाँच वर्षसम्म अविच्छिन्न रूपमा काम गर्ने सुनिश्चितता हुनुपर्ने भन्दै बीचमै सरकार परिवर्तन हुने व्यवस्था अन्त्य गर्नुपर्ने बताए । उनले सरकारले पूर्वसांसदहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न विकास निर्माण र अनुगमनको जिम्मेवारी दिनुपर्ने समेत बताए । उनले पूर्वसांसदहरुको सम्मानमका लागि समेत उनीहरुको अनुभवलाई विकास निर्माण र अनुगमनमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
उनले भने,‘सरकारले यदि पूर्व सांसदहरुलाई सम्मान गर्न चाहान्छ भने कुनै न कुनै क्षेत्रमा निरीक्षण गर्न पठाओस् । कुनै ठाउँको विकास निर्माणका कार्यको जिम्मा नै देओस् । यस्तो परम्परा संसारभरी छ, गर्छन् । एक पटक युरोपको एउटा टिम आएको थियो, जर्मनबाट आएका ती साथिहरु मसँग भेट गर्नुभयो । अनुभव साटासाट भयो । अहिले पनि महिलालाई दिइएको अधिकार प्रयोग भइरहेको छैन । तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिलालाई जिताएर ल्यायो । यो राम्रो भयो । संविधान संशोधनको विषयमा मैले एउटा किताब लेखेको छु । त्यसमा मैले नेपालमा असफल भएको प्रधानमन्त्री प्रणाली भन्छु, अहिलेका प्रधामन्त्री कति सफल हुने हुन थाहा छैन । तर २०१५ सालदेखि अहिलेसम्म कुनैपनि प्रधानमन्त्री ५ वर्ष प्रधानमन्त्री हुनै सकेन । संसद पनि पाँच वर्ष चल्नै सकेन । यो हटाउनु पर्दैन रु यसको विकल्प के हुन्छ त भन्दा निर्वाचित हुने बित्तकै पाँच वर्ष काम गर्ने हुनुपर्यो । बिचमा हटाउनुपर्ने व्यवस्था हुनुभएन । त्यसो भएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त हुन्छ ।’
नेता गौतमले संविधानले महिलालाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिला उम्मेदवारलाई विजयी गराएको विषय सकारात्मक रहेको बताएका छन् ।

