प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको कांग्रेस, यसपटक भने निकै कमजोर अवस्थामा पुगेको छ। अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले मात्र १४ स्थानमा विजय हासिल गरेको भने केही सिटमा मात्रै अग्रता कायम गरेको छ ।
देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चिन्हमा भोट खस्ने क्रम ह्वात्तै घटेको र परम्परागत गढहरू भत्किएको प्राप्त नतिजाले देखाएको छ। लज्जास्पद परिणामबिच कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम गरेको छ ।
एमाले लगायतका परम्परागत शक्ति निश्चित भूगोलमा बढारिने सङ्केत देखिँदा थोरै सङ्ख्यामा भए पनि सातै प्रदेशको प्रतिनिधित्व जोगाएको छ। कांग्रेसले जितेका १४ सिटले सातवटै प्रदेशको प्रतिनिधित्व गरेको हो ।

