मतदातालाई रकम वितरण गरेको आरोपमा कांग्रेसका तीन कार्यकर्ता प्रहरीको नियन्त्रणमा

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदातालाई नगद वितरण गरेको आरोपमा प्रहरीले मोरङमा तीन जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाईबाट नेपाली कांग्रेसका तीन जनालाई नियन्त्रणमा लिँदै प्रहरीले एउटा गाडी, करिब साढे चार लाख रूपैयाँ नगद, प्रचार सामग्री र नमुना मतपत्र बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा गएको टोलीले शनिबार राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–७ जामवाढीमा को १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा उक्त रकम र सामग्री फेला परेको थियो । त्यसलगत्तै प्रहरीले गाडीभित्र रहेका रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपालीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार टेकनाथ घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव हुन् भने खड्गबहादुर लिम्बू कांग्रेसको महाधिवेशन प्रतिनिधि र चक्र नेपाली पार्टीको क्रियाशील सदस्य छन् ।

उनीहरू आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई प्रभावित पार्ने उद्देश्यले रकम वितरणमा संलग्न भएको हुनसक्ने अनुमान छ । बरामद रकम, प्रचार सामग्री र कारसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । प्रहरी स्रोतले यस रकमको स्रोत, ओसारपसारको उद्देश्य र संलग्न व्यक्तिहरूका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार