इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य टकराव र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी भएका आक्रमणका प्रयासले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष जोखिममा परेका छन्। विशेषगरी खुला स्थानमा निर्माण कार्यमा संलग्न र सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरू बढी जोखिममा देखिएको त्यहाँ रहेका नेपालीहरू बताउँछन्। गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेत शाखाले छुट्टाछुट्टै सूचना जारी गरेर हटलाइन सम्पर्क नम्बरहरू सार्वजनिक गरेका छन्।
साथै कुवेत सरकार तथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गरी पालना गर्न, सकेसम्म घरभित्र सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर ननिस्किन, नेपाल वा अन्य मुलुकमा यात्रा गर्नेहरूले सम्बन्धित एयरलाइन्सको वेबसाइट वा टिकट एजेन्टमार्फत जानकारी लिएर मात्र यात्रासम्बन्धी निर्णय लिन अनुरोध गरेका छन्।
नेपाल सरकार र विभिन्न आप्रवासन संस्थाहरूको पछिल्लो तथ्याङ्कअनुसार खाडीका ६ प्रमुख मुलुकहरूमध्ये यूएईमा सबैभन्दा धेरै ६ लाखभन्दा बढी नेपालीहरू छन्। कतारमा करिब ५ लाख नेपालीहरू रहेको अनुमान छ। साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा ५० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान छ। यसबाहेक, इजरायलमा करिब ५ हजार नेपालीहरू ‘केयरगिभर’ र कृषि क्षेत्रमा कार्यरत छन्।
खाडी मुलुकहरू नेपालीका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू हुन्। मध्यपूर्वमा पछिल्लो २४ घण्टामा विकसित सैन्य तनावका कारण खाडी मुलुकहरूमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ।

