भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन । जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उनको भनाइ छ । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि मागेका छन् । सभापति थापाले २००७, २०४६ र २०६३र६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताए । उनले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै थापाले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गरेका छन् ।

उनले भने ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ति भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३र६४ सालको आन्दोलनको गौरव गर्छौं । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरु आन्दोलनमा आए । ती मागहरु पूरा गर्नसके मात्र हामी त्यसप्रति गौरव गर्छौँ ।’

उनले अगामी दिनहरुमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

सम्बन्धित समाचार

ताजा समाचार