पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । पाध्यायका छोरा आशिषले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपाध्याय पूर्वमन्त्री, पूर्वसांसद र भारतका लागि नेपालका पूर्वराजदूत पनि हुन् ।
कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उपाध्याय, बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।‘
जिल्ला अनुशासन समितिको निर्णय बमोजिम पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने आशिष शर्मा, पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्याय, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्लुल मन्नान खाँसहित १९ जनालाई कारबाही सिफारिस गरेका छौँ,’ कलामले बताएका छन् । कारबाही सिफारिस गर्नेमा महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन र विष्णु प्रसाद न्यौपाने, पार्टी जिल्ला सदस्य हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य, डोलकराम घिमिरेसहित छन् ।

