काठमाडौं । आसन्न निर्वाचनको तयारी, आचारसंहिता कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री सुशीला कार्यकीले मन्त्रीहरूसहितको बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे बस्ने उक्त बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ।
निर्वाचन प्रक्रिया अगाडि बढिरहेका बेला प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता मङ्गलवारका लागि तय गरिएको छ। तर विभिन्न राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक व्यवस्थापनमा कठिनाइ भएको भन्दै मिति केही दिन सार्न निर्वाचन आयोगसमक्ष आग्रह गरिरहेका छन्।
बैठकमा यिनै विषयसँगै निर्वाचन वातावरण, सुरक्षा व्यवस्थापन र सरोकारवालाबीच समन्वय कसरी प्रभावकारी बनाउने भन्नेमा पनि विचार–विमर्श हुने जनाइएको छ।

