काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै जाँदा संस्थापन समूहले विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही अघि बढाउने संकेत दिएको छ । निर्वाचन प्रक्रिया अघि बढ्दै मनोनयनको अन्तिम सूची सार्वजनिक हुन लागेपछि संस्थापन पक्ष कडा कदम चाल्ने निष्कर्षमा पुगेको हो ।
संस्थापन समूहका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूलाई लक्षित गरी कारबाहीको तयारी गरिएको छ । विशेष महाधिवेशन पक्षधरले सहमतिको प्रयासलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाएपछि कारबाही बाहेक विकल्प नरहेको निष्कर्ष निकालिएको बताइएको छ ।
संस्थापन पक्षका एक नेताले अन्तिम नामावली सार्वजनिक भएपछि औपचारिक रूपमा कारबाहीसम्बन्धी पत्र पठाइने जानकारी दिए । उनका अनुसार पार्टी अनुशासन उल्लङ्घन भएको ठहर गर्दै कडा निर्णय लिन बाध्य हुनुपरेको हो ।
यसबीच, गगन थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले आज दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
कांग्रेसभित्र बढ्दो शक्ति संघर्षका बीच संस्थापनको यो कदमले पार्टीको आन्तरिक राजनीतिलाई थप तरंगित बनाउने देखिएको छ ।

