काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभुति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलवार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जेन–जी आन्दोलन र परिवर्तित सन्दर्भमा राष्ट्र सेवक हुँ भन्ने अनुभुति जनतालाई दिलाउने गरी काम गर्न कर्मचारीहरुलाई सचेत गराएका हुन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले कर्मचारी र जनताको बीचको सम्बन्ध नङ–मासुको जस्तो बनाउन पनि उनीहरुले जनसेवाको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे । उनले जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयबाटै हुनुपर्ने पनि स्मरण गराएका छन् ।
उनले भने,‘सरकारी कर्मचारी, सबै राष्ट्र सेवक कर्मचारीहरुलाई म के भन्छु भने–जनतालाई परिवर्तनको अनुभुति हाम्रा सरकारी कार्यालयहरुबाटै हुनुपर्छ । यतातिर हामी अगाडि बढ्यौँ भने कर्मचारी र जनता चाँही नङ–मासु हो, त्यो साच्चिकै हो । त्यो कुरा अझै स्थापित भएर जान्छ । र, हामी जनताको सेवक हौं कर्मचारी पनि र राजनीतिकर्मी पनि भन्ने अनुभुति चाहीँ जति सक्दो बढी हामीले जनतालाई दिलाउन सक्यौँ, त्यति जनतालाई यो राज्य मेरो हो, यो राष्ट्र मेरो हो । कर्मचारी मेरा हुन् । राजनीतिक दल र पार्टीहरु पनि हाम्रा हुन् । र जनताका लागि हुन भन्ने अनुभुति हुन्छ ।’
अनुगमनका क्रममा मन्त्री खरेलले काठमाडौ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको काम सन्तुष्टि रहेको उल्लेख गर्दै खुशी व्यक्त गरेका थिए भने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफ्नो मातहतमा भइरहेका जनसेवाका कामबारे मन्त्री खरेललाई ब्रिफिङ गरेका थिए ।

