काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो । केही बाँकी निर्माणका काम सकेर आयोजनलाई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए ।
उनका अनुसार सुरुङमार्ग सञ्चालन गर्न पाँच वर्षका लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षका लागि दिइएको छ ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको सुरुङमार्गको अनुगमनका क्रममा निर्देशक नेपालले सुरुङमार्गका भौतिक प्रगतिका बारेमा सांसदलाई जानकारी गराएका थिए । सो क्रममा नेपालले सुरुङमार्ग निर्माणमा केही ढिलाई भएको बताए ।
४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उनको भनाइ छ ।

