जेनजी आन्दोलनमाथि आत्मसमीक्षाको आह्वान, जिम्मेवारीबाट भाग्न नहुने विश्वप्रकाशको जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गरिरहेका युवा आन्दोलनकारीलाई आफ्ना गतिविधिबारे गम्भीर आत्मसमीक्षा गर्न र आफ्नो भागमा पर्ने जिम्मेवारी लिन आग्रह गरेका छन्। परिवर्तनको चाहना स्वाभाविक भए पनि त्यसको अभिव्यक्ति जिम्मेवार, मर्यादित र लोकतान्त्रिक हुनुपर्ने उनको भनाइ छ।

काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सोमबार प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमार्फत महामन्त्री शर्माले जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्षलाई विवेचना गरेका छन्। ‘बदलिएको देश र बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा उनले ‘जेनजीले गर्नुपर्ने आत्मसमीक्षा’ नामक अलग्गै उपशीर्षक राख्दै आन्दोलनको स्वरूप, प्रभाव र त्यसबाट उत्पन्न परिस्थितिबारे स्पष्ट धारणा प्रस्तुत गरेका हुन्।

प्रतिवेदनमा शर्माले जेनजी आन्दोलनलाई पूर्ण रूपमा नकारात्मक रूपमा चित्रण गरेका छैनन्। उनले युवापुस्तामा देखिएको असन्तुष्टि, आक्रोश र परिवर्तनको आकांक्षालाई स्वाभाविक भन्दै त्यसलाई लोकतान्त्रिक चेतनाको एउटा रूपका रूपमा स्वीकार गरेका छन्। तर, आन्दोलनका क्रममा देखिएका अराजकता, हिंसात्मक गतिविधि र समाजमा नकारात्मक सन्देश जाने कार्यप्रति भने उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

इतिहासको उदाहरण दिँदै महामन्त्री शर्माले ०४२ सालको सत्याग्रहको सन्दर्भ स्मरण गराएका छन्। “०४२ सालमा नेपाली कांग्रेसले निरन्तर सत्याग्रह गरिरहँदा कतिपय स्थानमा बम विस्फोटजस्ता घटना भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गर्‍यो,” उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, “त्यो निर्णय नेपाली कांग्रेसको उच्च नैतिक जिम्मेवारी र राजनीतिक परिपक्वताको उदाहरण थियो।”

उनका अनुसार अहिलेको सन्दर्भमा पनि जेनजी आन्दोलनकारीले आफ्ना गतिविधिबारे त्यही स्तरको आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ। आन्दोलनका नाममा भएका सबै घटनाको दोष अरूमाथि थोपर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने चेतावनी उनले दिएका छन्। “जेनजी प्रदर्शनकारीले आफ्नो आह्वान, संलग्नता र कर्मको आधारमा जति जिम्मेवारी पर्छ, त्यति जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ,” शर्माले भनेका छन्।

महामन्त्री शर्माको प्रतिवेदनले युवाको आवाज सुन्नुपर्ने आवश्यकता र जिम्मेवारीपूर्ण आन्दोलनबीच सन्तुलन खोज्ने प्रयास गरेको देखिन्छ।

सम्बन्धित समाचार

ताजा समाचार