काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा युवासम्बन्धी कुनै औपचारिक कार्यक्रमसमेत आयोजना नगरिएको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा एनआरएनए अमेरिकाको नाम र डिजिटल पहिचान दुरुपयोग गर्दै केही व्यक्ति वा समूहले अनधिकृत कार्यक्रम सञ्चालन गरिरहेको, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिसमेत भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख छ। यस्ता गतिविधिहरू संस्थाको जानकारी, स्वीकृति वा निर्णयबिनै सञ्चालन भइरहेको संघको भनाइ छ।
संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएकाले नाम, इएनआइ तथा वेबसाइटको दुरुपयोगले कानुनी, आर्थिक र प्रतिष्ठासम्बन्धी गम्भीर जोखिम निम्त्याउने एनआरएनए अमेरिकाले चेतावनी दिएको छ। संस्थासँग असम्बन्धित गतिविधि एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भन्दै यस विषयलाई गम्भीर रूपमा लिइएको जनाइएको छ।
एनआरएनए अमेरिकाले यस्ता अनधिकृत गतिविधिप्रति सचेत रहन तथा आधिकारिक जानकारीका लागि संस्थाका मान्य र आधिकारिक माध्यमहरूमा मात्र भर पर्न सबैलाई आग्रह गरेको छ।


