काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी वरिष्ठ नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट बाहिर रहने स्पष्ट निर्णय सार्वजनिक गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले यसपटक चुनावी प्रतिस्पर्धामा नउत्रिने बताएकी छन् । ‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमा पुगेकी छु,’ उनले लेखेकी छन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दुईपटक प्रत्यक्ष निर्वाचित हुँदै मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेकी भुसालले अब आफूले आर्जन गरेको राजनीतिक अनुभव पार्टीभित्र संस्थागत रूपमा प्रयोग गर्ने चाहना व्यक्त गरेकी छन् । उनका अनुसार लामो समयको संसदीय र कार्यकारी अनुभव अब नयाँ पुस्ता र संगठन सुदृढीकरणमा लगानी गरिनु आवश्यक छ ।
‘दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने अवसर पाएँ, पटक–पटक मन्त्री भएर काम पनि गरें । अब त्यो अनुभव पार्टी निर्माण र नीतिगत दिशामा उपयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेकी छु,’ उनको भनाइ छ ।
यद्यपि, निर्वाचन प्रक्रियाबाट पूर्ण रूपमा टाढा रहने नभई पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने उनले स्पष्ट पारेकी छन् ।
राजनीतिक इतिहासमा पम्फा भुसाल तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला नेतृ हुन् । तर २०७९ सालको निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित भएकी थिइन् ।
उनको पछिल्लो निर्णयलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण र नयाँ राजनीतिक रणनीतितर्फको संकेतका रूपमा हेरिएको छ ।

