हेटौंडा । २४ भदौमा प्रदर्शनकारीबाट तोडफोड र आगजनीले प्रदेश सभा भवन जलेपछि बाग्मती प्रदेशसभाको बैठक बस्न अन्यौल भएको छ । प्रदर्शनकारीले प्रदेशसभा सचिवालयको पुरानो र नवर्निर्मित दुवै भवनमा पूर्ण क्षति पुर्याएपछि तत्काल बैठक डाक्न सक्ने अवस्था नरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एक महिनाअघि मात्रै उद्घाटन गरिएको प्रदेशसभा भवन आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पुरानो भवन पनि आगजनीका कारण जीर्ण अवस्थामा छ । प्राविधिक टोलीले पुरानो भवन प्रयोग गर्न नमिल्ने सुझाव दिएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।
प्रदर्शनका क्रममा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस र माओवादीबाहेक एमाले, एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका संसदीय दलका कार्यालयमा पनि आगजनी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

