पितृपक्ष आज पिण्डदान गरी समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) को श्राद्ध भने सोमबार गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।

पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

सम्बन्धित समाचार

ताजा समाचार