काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका- ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्।तीन जना मृतक एकै परिवारका हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो।लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो।
गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

