काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार राजधानीको सामाखुसीमा विरोध प्रदर्शन गरेका छन् । संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले वर्तमान संविधानभित्रै सबै समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले जेन–जी आन्दोलनका नाममा सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका भवनहरूमा तोडफोड र आगजनीजस्ता गतिविधि भएको प्रति कडा आपत्ति जनाए ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य नेताहरूमाथि आक्रमण हुँदा कार्यकर्ताहरू चुप लागेर बस्न नहुने उल्लेख गर्दै पार्टी अनुशासनभित्रै रहेर प्रतिकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

