भारतमा मजदुरी गरी फर्किएका नेपाली आफ्नै ठाउँमा कसरी लुटिए ?

कञ्चनपुर । भारतमा मजदुरी गरी कालिकोटस्थित घर फर्किरहेका दुई जना नेपाली कञ्चनपुरमा लुटिएका छन् । कालिकोटको पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामी बिच बाटोमै लुटिएका हुन् । नगद र मोबाइल लुटिएपछि बिचल्लीमा परेको उनीहरुले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सेतो रङको स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले हतियार देखाई लुटेको कलमबहादुरले बताए ।

‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौं’, कलमबहादुरले विहीबार भएको घटना सुनाए, ‘तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।’

कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए । दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् ।

प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार