विपद् प्रतिकार्यका लागि देशका ५४ स्थानमा मनसुन प्रतिकार्य वेश स्थापना

काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ ।

सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् ।

सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

“यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।”

यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।

सम्बन्धित समाचार

ताजा समाचार