काठमाडौं। जेनजी प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएका मध्ये ९ सय ४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
तीन सय २१ जना देशका विभिन्न ४१ अस्पतालमा उपचारत छन्। घाइतेमध्ये ३५ जनाको शल्यक्रिया भएको छ । सिभिल अस्पतालमा उपचारका लागि पुगेका ४४२ घाइतेमध्ये २१ जनाको शल्यक्रिया गरिएको छ। ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ। त्यसैगरी नारायणी अस्पतालमा नौजना घाइतेमध्ये तीन जनाको शल्यक्रिया गरिएको छ ।
मृत्यु हुने घाइतेको सङ्ख्या ३४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिए। त्यसैगरी, सिभिल अस्पतालमा ६ जना, एभरेस्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जनाको मृत्यु भएको छ ।

