ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो ।
फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको छ । घर नै बगाउनेगरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको मृतक शेर्पाका भतिज पासाङग्याबु शेर्पाले बताए । मैवाखोला गाउँ कार्यपालिका सदस्यसमेत रहेका शेर्पाका अनुसार बुधबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्छाएर निकालिएको छ ।
अस्थायी प्रहरीचौकी फाकुम्बाका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार दलबहादुर श्रेष्ठ नेतृत्वको टोली र स्थानीय समेतले पहिरो पन्छाएर शव निकाल्ने काम भएको शेर्पाले बताएका छन् ।

