दार्चुला । दार्चुला सदरमुकाम खलंगामा तीन दिनदेखि खानेपानी अभाव भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका घरधुरीमा खानेपानी अभाव भएको हो ।
महाकाली नगरपालिका–३ गारखोला खोलाबाट आएको पानी दुई ठाउँमा अवरुद्ध भएपछि खलंगामा खानेपानी अभाव भएको हो । पहिरोका कारण बडाली गाउँ र मलबेला क्षेत्रमा खानेपानीका पाइप टुटफुट भएको वडा नम्बर ५ का वडाअध्यक्ष दिलेन्द्रराज अवस्थीले जानकारी दिए ।
बजारमा पानी नआउँदा झण्डै दुई हजार दुई सय घरधुरी प्रभावित भएका छन् । पानी नहुँदा स्थानीयलाई बजार क्षेत्रमा दमकलमार्फत खानेपानी वितरण भइरहेको छ । यस्तै केहि स्थानीयले खेट्याखोला, गल्फै क्षेत्र, मोहतीको पानी बोकेर खान बाध्य भएका छन् ।
खानेपानी अभाव हुँदा पनि खानेपानीको जिम्मा लिएको निकायले निरन्तरको वर्षाका कारण सुचारु गर्न नसकिएको जनाएको छ ।
दार्चुलामा २०७७/७८ सालदेखि सुरु गरिएको खलंगा सहरी खानेपानी तथा सरसफाई आयोजनाको लागत २९ करोड रुपैयाँ रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौता अनुसार डेढ वर्षमै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन् ।
खलंगा शहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपभोक्ता समितिका सचिव खडकसिह धामीले बताए ।

