काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ जारी छ ।
मानवसेवा फाउण्डेशनको आयोजनामा गत वैशाख १७ गतेदेखि औपचारिक रुपमा उद्घाटन भएकोे ऐतिहासिक महायज्ञ जेठ २६ गतेसम्म संञ्चालन हुनेछ । अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु समेत भने जारी छन् ।
महायज्ञमा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन भएका छन् । महायज्ञको मुख्य दिन गत बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुत भएका छन् । कार्यक्रम अवधिभर देश विदेशबाट विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने क्रम जारी छ ।
कोटीहोम कार्यक्रममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिएको छ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु समेत गरिएको आयोजकले जनाएको छ ।
श्रद्धालुहरुले घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित भइरहेका छन् ।
पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका अन्य ५ प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुदाँ यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो ।
कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ ।
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
जारी कोटिहोम विराट ज्ञान महायज्ञमा शिवलिङ्गले भक्तजनहरुलाई लोभ्याएको छ । रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ ।
युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित भएको छ । दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ ।

