नेपाल बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छ : अध्यक्ष मिश्र

नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको बताए । उनले अहिलेको बार एशोसिएशनसँग २०६२ ÷०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गरे ।

उनले अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरूको समाधान हुनुपर्ने बताए । उनले आफूहरूले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरूको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने ‘बार एशोसिएशनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी हामीले बोकेका छौँ । त्यसमा थपथाप पनि गर्दिनुहुनेछ । यो बार एशोसिएशन २०६२ /०६३ सालको शम्भु श्रेष्ठ, शेरबहादुर सर, कुमार आचार्यको कार्यसमितिको जस्तो अपेक्षा नगर्नुस् किनभने परिस्थिति भिन्न छ । त्यो बेला निरंकुशतन्त्र थियो । अहिले राजा हटाउनु पर्ने अवस्था छैन, हटिसकेको छ । त्यसैले त्यो बेला जस्तो हामीले गर्ने हरेक कार्यक्रम बीबीसी सिएनएन आउँदैनन् । अब त्यो बेगल परिस्थितिको राजनीतिक माहौललाई अहिले पनि त्यसैमा जानुपर्छ भन्ने छैन । त्यो कुरालाई हामी गर्न सक्दैनौँ । त्यो कुरा विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु । अहिले परिस्थिति बेग्लै छ । हाम्रो मानक भनेको अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरूको क्षमता वृद्धिको लागि रहनेछ भन्नेकुरा विनम्रतापूर्वक अनुरोध छ ।’

अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरूलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने बताए । बार एशोसिएशनको नयाँ कार्यसमितिले आज पदभार समेत ग्रहण गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार