नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ ।
नेपालमा रहेका दुई वटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो । भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराए ।
अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ ।
उनले भने ‘नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।’
निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौँ, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई ) सँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् ।
महानिर्देशक कर्णले भने ‘निर्यातलाई प्रोमोशन गर्नको लागि जुन देशमा हामी खाद्यवस्तुहरू निर्यात गर्न खोजेका छौँ त्यो देशको हामी जस्तै खाद्य स्वच्छता नियामक निकायहरूले हाम्रो प्रयोगशालालाई र हाम्रो परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्छ र हामीले मान्यता लिनुपर्छ । त्यो भयो हाम्रा खाद्यवस्तुहरू जुन देशमा निर्यात गर्न खोजेका छौँ, त्यही गएर उहीँको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता हट्छ । यसलाई मध्यनजर गरेर हामीले केही महिनादेखि भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया –एफएसएसएआईसँग मान्यताको लागि विविध चरणमा विभिन्न कामहरू गर्दै आइरहेका थियौँ । यहीँ अप्रिल ४ देखि हामीले मान्यता पाएका छौँ ।’
भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उनले बताए ।
उनले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने बताए ।
उनले भने ‘अहिलेलाई ८ वटा खाद्यवस्तुहरू ९जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायत०को परीक्षण गरी निर्यात गर्छौं । यसले हामीलाई धरै फाइदा हुन्छ । एउटा त यहाँबाट सिर्जित परीक्षण प्रतिवेदन विश्वले मान्यता दिन्छ । त्यही आधारमा उनीहरूले सिफारिस गर्ने हो । सिफारिस भइसकेपछि हाम्रा खाद्यवस्तुहरू जसले निर्यात गर्नुहुन्छ नेपाली व्यवसायीहरूले, त्यो अब भारतको भन्सारमा गइसकेपछि फेरि भारतको अन्य प्रयोगशालाबाट परीक्षण गराउनुपर्दैन । त्यसको लागि यहाँको राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र यहाँबाट लगिसकेपछि त्यो सिधै भारतको भन्सारले त्यसलाई प्रक्रिया पु¥याएर जारी गर्छ, त्यो सहज हुन्छ ।’
अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताए । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्यून गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उनले बताए ।
महानिर्देशक कर्णले भने ‘यसबाट व्यवसायीहरूको लागतको कुरा पनि छ । ४/५ वटा ल्याब (भारतका लखनउ, कोलकाता, नयाँ दिल्ली) बाट मात्रै परीक्षण गराउनुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । त्यसबाट सिर्जित लागत धेरै थियो, त्यो घट्ने भयो । साथै, भारतमा पुगेर परीक्षण गरिसकेपछि त्यो खाद्यवस्तु न्यून गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता हटेको छ ।’
विभागले यो एउटा सुखद् सुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडी नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ ।
विभागका महानिर्देशक कर्णले भने ‘व्यापारमा सहजीकरण हुन्छ । हाम्रो निर्यात बढ्छ । एउटा यो सुरुवात भएको छ । अहिले बिना सर्त हाम्रो ल्याएको सिफारिस भएको छ । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्छ भन्ने हाम्रो विश्वास छ । तर अब व्यवसायीहरूले प्लान चाहिँ गर्नुपर्छ । कहिले निर्यात गर्ने हो रु त्यो भन्दा १०/१५ दिन पहिले नै निवेदन दिनुपर्छ । आफ्नो उद्योगको निरीक्षण गराउने, ब्याच प्रमाणीकरण गराउने र नेपाल सरकारले तोकेको स्तर बमोजिमको रिपोर्ट आयो र भारतमा निर्यात गर्नको लागि सोही अनुसार नै स्टान्डर्स भयो भने सोही अनुसारको प्रमाणपत्र दिएर हामी सहजीकरण गर्छौं ।’
विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्याबहरू रहेका छन् ।

