धनुषाको जनकनन्दनी गाउँपालिका- ५ उधामा कुटपिट गरी सासूको ज्यान लिने बुहारी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा स्थानीय सञ्जीव मण्डलकी श्रीमती ३५ वर्षीया रक्षाकुमारी मण्डल छिन् । उनलाई इलाका प्रहरी कार्यालय खजुरीको टोलीले मंगलबार राति पक्राउ गरेको हो ।
घरायसी विवादमा ६५ वर्षीया समुन्द्री देवीलाई कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको जानकारी पाएपछि तत्कालै प्रहरी पुगेर कुटपिट गर्ने बुहारी रक्षाकुमारीलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

