ग्लोबल अबाकस तथा वैदिक गणित २०२६ क्वालालम्पुरमा सम्पन्न

ग्लोबल अबाकस तथा वैदिक गणित २०२६ अन्तर्राष्ट्रिय प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भारत, नेपाल, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अबाकस तथा वैदिक गणित शिक्षाको विश्वव्यापी बढ्दो महत्व झल्किएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमको संयुक्त आयोजना साउथ एशियन डेभलपमेन्ट बैंक लिमिटेड (युके), रे फाउन्डेसन (भारत), प्यासिफिक एलायन्स ग्रुप (मलेसिया), बाल विकास एनसीएमएएस प्रा.लि. (नेपाल), रेज अबाकस (भारत) तथा गुरुश्री अबाकस एन्ड वैदिक म्याथ्स (भारत) ले गरेका थिए। कार्यक्रममा भ्वाइस अफ एशिया इन्टरनेशनल न्यूजले आधिकारिक मिडिया सपोर्ट प्रदान गरेको थियो।

कार्यक्रमको अध्यक्षता साउथ एशियन डेभलपमेन्ट बैंकका अध्यक्ष डा. जरीफ मेननले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मलेसिया बिजनेस चेम्बर भियतनामका पूर्व अध्यक्ष दातुक डा. एम. शिमी उपस्थित थिए। विशेष अतिथिहरूमा भ्वाइस एशिया न्यूजका प्रधान सम्पादक कौशल कुमार, एएमएसका एमडी/सीईओ अज्जा रहमान, पिएआईसीका एमडी/सीईओ लेस्ली चार्ल्स अल्बुकर्क, बाल विकास एनसीएमएएस प्रा.लि.का संस्थापक/सीईओ तेजु नेपाल, सनसाइन एजुकेशनल ग्रुप (एम) का संस्थापक तथा प्रबन्ध निर्देशक डा. आर.भी. श्याम प्रसाद, रेज अबाकसका सीईओ अमोल गाउनर तथा गुरुश्री एजुकेशन एकेडेमीका संस्थापक अविनाश भिसे सहभागी थिए।

अध्यक्ष डा. मेननले विद्यार्थीहरूको अद्भुत गति, एकाग्रता र जटिल गणितीय प्रश्न समाधान गर्ने क्षमताको प्रशंसा गर्दै उनीहरूले क्याल्कुलेटर र डिजिटल उपकरणलाई समेत पछि पार्ने प्रदर्शन गरेको बताए। उनले विद्यार्थीहरू औपचारिक भाषणभन्दा मानसिक गणित समाधान गर्न बढी उत्साहित देखिएको उल्लेख गर्दै अबाकस शिक्षाले गणितीय क्षमता मात्र होइन, एकाग्रता र अनुशासन पनि विकास गर्ने बताए। साथै, उनले आगामी दिनमा थप देशहरूको सहभागितासहित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिता विभिन्न तह र विधामा सञ्चालन गरिएको थियो, जसमा गति, शुद्धता, एकाग्रता तथा विश्लेषणात्मक क्षमताको मूल्याङ्कन गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरका अबाकस तथा वैदिक गणित पद्धतिअनुसार विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

वाई–३ (Y3) लेभलमा भारतको गुरुश्री एजुकेशन एकेडेमीका स्वरञ्जिल सन्तोष जाधव प्रथम भए। जेड–१ (Z1) लेभलमा नेपालको केजीएस स्कूलका बाचस्पति ढकाल प्रथम स्थानमा रहे। जेड–२ए (Z2A) लेभलमा हिमश्रृंखला एकेडेमी, नेपालका कृष्ण तामाङ प्रथम भए।

वैदिक गणित च्याम्पियनसिपतर्फ भारतको गुरुश्री अबाकस एन्ड वैदिक म्याथ्सकी विविका हिरानी प्रथम स्थान हासिल गर्न सफल भइन्। जेड–२बी (Z2B) लेभलमा हिमश्रृंखला एकेडेमी, नेपालकी रचना तामाङ प्रथम भइन् भने स्वाती सदनका मञ्जिल देवकोटा तृतीय स्थानमा रहे। एक्स–२ (X2) लेभलमा बाल बाटिका पाठशाला, नेपालका कृषिभ गिरी प्रथम भए।

कार्यक्रमको सफल सम्पन्नतासँगै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य थप सुदृढ भएको आयोजकहरूले बताएका छन्। साथै, अबाकस तथा वैदिक गणित शिक्षाले बालबालिकाको संज्ञानात्मक विकास र विश्लेषणात्मक उत्कृष्टतामा महत्वपूर्ण भूमिका खेल्दै विश्वव्यापी रूपमा गति लिइरहेको पनि उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार